गठबन्धनलाई बहुमत दिलाउन प्रधानमन्त्री देउवाको अपिल


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन्।

ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई  मंगलबार सम्बोधन गर्दै उनले आगामी आमनिर्वाचनमा रूख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरे ।गठबन्धन दलका उम्मेदवारलाई कांग्रेसका सबै नेता कार्यकर्ता तथा आफूले पनि स्थानीय तहको निर्वाचनमा भोट हालेको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पनि गठबन्धन दलका उम्मेदवारलाई सबैले सबैलाई भोट हाल्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘संसद बचाउन यो गठबन्धन बनेको हो, यो राम्रो सँग चलेको छ । सबैबाट सहयोग प्राप्त भएको छ । आपसी विश्वास कायम छ । यसका लागि सबैलाई धन्यवाद ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद भङ्ग गरेकाे प्रसङ्ग उल्लेख गर्दै उनले जनताले चुनेको संसद् मन लाग्यो भन्दैमा लहडमा भङ्ग गर्न नपाइने बताए ।

यस्तै नहोस् भनेर नै संविधान बनाउँदा सो बारेमा संविधानमा आवश्यक व्यवस्था उल्लेख गरेको उनले जानकारी गराए। लोकतान्त्रिक प्रणालीमा निर्वाचन गर्ने निर्धारित र आवधिक समय हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोही समयानुसार नै अहिले निर्वाचन हुन लागेको स्पष्ट पारे। ‘हामीले अपनाएको राजनीतिक प्रणाली अनुसार नै अहिले आवधिक निर्वाचन पाँच वर्षमा हुन लागेको हो’, उनले भने ।

मुलुकमा एकातिर कोभिड–१९ महामारीको असर र डेङ्गु रोगको सङ्क्रमण तथा अर्कोतिर आर्थिक अवस्थामा देखिएको समस्याका बाबजुद सबैको सहयोगले समाधान उन्मुख भएको उल्लेख गर्दै उनले सबै मन्त्रीले राम्रो काम गरेको बताए । त्यसैले नेपाल असफल राज्य हुन बाट बचेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *