प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन


निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।

सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् ।

उनले उम्मेदवारहरूले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे । उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरे ।

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिन्हको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले सोही अनुरुप काम गर्नपनि आग्रह गरे ।

त्यस्तै, उनले कुनैपनि बहानामा भोजभतेर गराउन नपाइने बताए । उनले खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रमहरूमा राजनीतिक आबद्धता देखाउनु नहुने पनि उल्लेख गरे ।

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनैपनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताए । उनले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदापनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने बताए । उनले  प्रमुख जिल्ला अधिकारीलाई अप्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्नपनि अनुरोध गरे ।

उनले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गरे । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरीय समितिको व्यवस्था भएको र सोही समिति अन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *