देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न


आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवद्र्धक रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

आयोगबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार करिब एक हजार छ सय प्रतिनिधिसभा र करिब दुई हजार उम्मेदवारी प्रदेशसभा सदस्यका लागि परेको छ । उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेकाले केही समयपछि अन्तिम तथ्याङ्क सार्वजनिक गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए।

कतिपय स्थानमा भने उम्मेदवारी दर्ताका लागि उम्मेदवार लामबद्ध भएकाले ढिलोसम्म दर्ता प्रक्रिया चलिरहेको छ । राजनीतिक दलले ढिलो अर्थात् अन्तिम समयमा मात्र उम्मेदवार छनोट गरेकाले कतिपय उम्मेदवारलाई स्वयं उपस्थित भएर मनोनयनपत्र दर्ता गराउन भ्याइनभ्याइ परेको थियो ।

मुलुकको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी नतिजा आफ्नो पक्षमा सुदृढ तुल्याउन बेग्ला–बेग्लै चुनावी गठबन्धन बनाउने सन्दर्भमा लामो समय खर्चनुपरेकाले पनि उम्मेदवार चयनमा ढिलाइ भएको हो ।

साना दलहरूलाई आफ्नो पक्षमा ल्याएर गठबन्धनलाई निकै प्रभावकारी तुल्याउन र उम्मेदवार चयनको विषय टुङ्ग्याउन दलका शीर्ष नेताबीच रस्साकस्सी र मेहनत गर्नुपरेको थियो ।

कुन–कुन दलबीच के–कस्तो गठबन्धन हुन्छ भन्ने विषयमा सर्वत्र निकै चासोका साथ हेरिएकामा उम्मेदवार मनोनयनसँगै त्यो अन्योल हटेको छ । त्यसो त प्रमुख पार्टीभित्र नै पनि उम्मेदवार चयनका विषयलाई लिएर केही आलोचना र टिप्पणीसमेत भएको पाइएको छ ।

अघिल्ला निर्वाचनमा कडा प्रतिस्पर्धी रहेका राजनीतिक दलका उम्मेदवार सहयोग र सहकार्य गर्ने प्रतिबद्धताका साथ अर्काे पार्टी र आफ्नो पार्टीको झण्डा एउटै हातमा लिएर उम्मेदवारी दिन निर्वाचन कार्यालय पुगेको दृश्य रोचक नै थियो ।

निर्वाचनमा उम्मेदवारले दुवै पार्टीका झण्डा बोकेर हिँड्ने परिस्थिति निर्माण हुनुलाई राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुन सक्दैनन् भन्ने सन्देश प्रवाह भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *