दसैंमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दसैंमा पनि निरन्तरता दिइएको छ। दसैं सुरु भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो।
दसैंको टीकाको दिनबाहेक अन्य सबै दिन काम नरोकिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिए। “आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउनका लागि कामको गति बढाएका छौँ”, उनले भने, “दसैंमा पनि काम रोकिँदैन।”
दसैंको मुख्य दिन टीकाको दिनमा नेपाली कामदारलाई बिदा दिइए पनि चिनियाँ मजदुर र अन्य केही नेपाली कामदारको सहभागितामा काम चलिरहने उनले भने।
यतिबेला आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ। उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ। प्याकेज दुईअन्तर्गतको विद्युत्गृह खन्ने काम सकिएको छ। आयोजना प्रमुख सिल्पकरका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ। आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ।
सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाई, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ। विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो। अब सुरुङभित्र पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।