निर्वाचन खर्च विवरण नबुझाउनेलाई एक मौका दिन गाउँपालिका महासंघको आग्रह


गाउँपालिका महासंघले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाललाई भेटेर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारमाथि थालिएको कारबाहीप्रति ध्यानाकर्षण गराएको छ।

सोमबार महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङसहितको टोलीले  आयोगको ध्यानाकर्षण गराएको हो।  भेटपछि गाउँपालिका महासंघले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भइ कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने सम्बन्धमा खुकुलो बनाउन माग गरे।

ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगले विद्धमान कानुनलाई कार्यान्वयन मात्र गरेको बताए। उनले तीनवटा विकल्पबाट मात्र यो समस्या समाधान हुने जानकारी पनि भेटमा गराएको विज्ञप्तिमा उल्लेख छ।कारबाही सच्याउनका लागि निर्वाचन ऐन २०७३ लाई तत्काल अध्यादेश ल्याएर संशोधन गर्ने, राष्ट्रपतिले नेपाल सरकारको सिफारिसमा जरिवाना मिनाहा गर्ने र हाललाई जरिवाना कसैले पनि नबुझाउने र निर्वाचन पश्चातको संसद्‌बाट कानुन संशोधनको लागि पैरवी गर्ने विकल्प रहेको उनले सुझाव दिएका छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भइ कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने सूचना जारी गरेपछि महासंघले निर्वाचन आयोगसँग छलफल गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *