संघ र स्थानीय सरकार बलियो पारौँ, प्रदेश खारेज गरौँ


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेको आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठीभरका केही नेताले देशको हालत दयनीय बनाएको उनको दाबी छ ।

शनिवार महोत्तरीको बर्दिबासमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए ।

वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्ति राष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘हामीलाई विदेशीसँगको मित्रता स्वीकार्य छ। तर, हस्तक्षेप स्वीकार्य छैन।´ राजालाई अर्बौँ रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अरब रुपैयाँ राखेको अध्यक्ष लिङ्देनले खुलासा गरे ।

यो व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसकाे संरक्षणकर्ता पनि नेताहरू रहेको बताए । `सामान्य जागिर खानका लागि घुस खुवाउनुपर्छ, समाजले पनि घुस्याहलाई राम्रो मान्छ,´ उनले भने । उनले प्रदेशलाई खारेज गर्नुपर्ने बताए ।

संघ र स्थानीय सरकारलाई सशक्त बनाए प्रदेशको जरुरत नै नपर्ने उनको सुझाव छ । वामपन्थी र कांग्रेसले गरेका गलत काम पर्दाफास हुने डरले नयाँ शक्तिलाई स्थापित हुन नदिएको अध्यक्ष लिङ्देनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *