सरकारकै कारण राजा आऊ देश बचाऊ भन्ने नारा लाग्यो : देउवा
सरकारले अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि सडकमा आउन बाध्य भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
सरकारविरुद्ध कांग्रेसले घोषणा गरेको विरोध सभामा सहभागी हुन मकवानपुरको हेटौँडा पुगेका सभापति देउवाले ओली सरकारको गैरजिम्मेवारीपनका कारण राजा आऊ देश बचाऊ भन्ने नारा लाग्दासमेत सरकार भने त्यसमै घिउ थप्न लागिरहेको बताए ।
“वास्तवमा यो कोरोनाको महामारीको समयमा सडकमा भेला गराएर जनतालाई संक्रमित बनाउने हाम्रो इच्छा होइन । यो बाध्यात्मक अवस्था हो,” ।
उनले यस्तो बाध्यात्मक अवस्थामा सरकारले पुर्याएको भन्दै यस्तो बेला पनि जनतालाई सडकमा साथ लिनुपरेकोमा माफी मागेका थिए ।
“मैले उसबेला नै भनेको थिएँ कम्युनिष्टले जितेमा हास्न पनि पाइँदैन दिल खोलेर रून पनि पाइँदैन,” सभालाई सम्बोधन गर्दै देउवाले भने, “आज हेर्नुस् त वास्तवमा कम्युनिष्ट सरकारले एकदलीय शासन जस्तो गरिरहेको छ, जनता भोक र रोगले मरिरहँदा ओली भाषणमा सरकारको प्रगति देखेर अरू आत्तिएँ भन्दै बसेका छन् ।”
उनले कोरोनाको महामारीमा पनि भ्रष्टाचार गर्ने विश्वकै उदाहरण ओली सरकार भएको भन्दै ओली सरकार आएपछि भ्रष्टाचार, बलात्कार, हत्या र कुशासन चलिरहेको बताए ।