प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा छैन्: लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिँदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताए ।
‘देशले परिवर्तन खोजिरहेको छ । राप्रपा परिवर्तनको वाहक शक्तिको रूपमा उदाइरहेको छ । तर निर्वाचनमा हाम्रो प्रभावकारी भूमिका भएन भने वैकल्पिक राजनीतिको धार कमजोर हुन पुग्छ । जुन केवल पार्टीको लागि मात्रै होइन देशकै लागि ठूलो क्षति हुनेछ,’ अध्यक्ष लिङ्देनले भने ।लिङ्देनले योग्यता, क्षमताका आधारमा नेता, कार्यकर्ताको मूल्यांकन हुने बताउँदै महाधिवेशनमा मत दिएको वा नदिएको आधारमा कसैलाई काखा र पाखा नहुने भन्दै आश्वस्त तुल्याएका छन्।
उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुव बहादुर प्रधानले आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन वैचारिक, सांगठनिक र रणनीतिक हिसाबले तयार हुनुपर्ने भएकाले देशभर आक्रामक ढंगबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।