मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौँ : मेयर शाह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले, उनकै शब्दमा, अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन नदिने बताएका छन्।

पछिल्लो समय महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिएका मेयर शाहले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै अब कानून मिचिरहन नदिने बताएका हुन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौँ। आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौँ।’

सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प महानगरसँग खुला रहेको उनले बताएका छन्। अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले महानगर रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा रहेको मेयर शाहको भनाइ छ।

उनले वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *