यो देशद्रोही गठबन्धन हो, यसले जनतालाई ढाँट्छ : केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई देशद्रोही गठबन्धनको संज्ञा दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेविरुद्ध अनेकथरी तत्व जोडिएको आरोप लगाए ।
“एमालेका विरुद्ध अनेकथरी तत्व जोडिएका जोडियै छन् । त्यसको नाम बडो नराम्रो राख्या छन्, गठबन्धन । यो देशद्रोही गठबन्धन हो । यसले जनतालाई ढाँट्छ । कहिले एमसीसीलाई पत्र लेख्छ । कहिले लेखेको छैन भन्छ,” उनले भने ।उनले कांग्रेस एमालेसँगै एक्लै लड्न नसक्नेसमेत दाबी गरे । “एमालेसँग अखडामा कांग्रेस पस्नै सक्दैन । कांग्रेस लुलो छ । विचारशून्य छ । कहाँ जाने थाहा छैन । कांग्रेस दिशाहीन छ,” ओलीले बताए ।
ओलीले नेकपा माओवादीकाबारेमा कुरै गर्न आवश्यक नभएको टिप्पणी गरे । माओवादीसँग त्रसित हुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।