नेपाललाई चीनको १५ अर्ब सहयोग, कुन क्षेत्रमा कति?

चीन सरकारले नेपाललाई यस वर्षका लागि ८०० मिलियन आरएमबी (१५ अर्ब १ करोड ९१ लाख रुपैयाँ बराबर) सहायता उपलब्ध गराउने घोषणा गरेको छ। परराष्ट्रमन्त्री डा नारायण खड्कको तीन दिने चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले सहयोग घोषणा गरेका हुन्।
नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले रायायनिक मल उपब्ध गराउन सकरात्मकसमेत भएको छ। साथै चीनले नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनमा सहयोग गर्नेसमेत बताएको छ। चीन नेपालको कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सहमत भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालको उत्पादकत्व बढाउन चिनियाँ लगानीलाई प्रोत्सहान गर्दै नेपाली चिया तथा परम्परागत जडिबुटी निर्यातमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै दुबै मन्त्रीले सीमा क्षेत्रमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र निर्माण गर्नेदेखि रसुवा-केरुङ र तातोपानी जाङ्मु नाका व्यापारका लागि द्वितर्फी सञ्चालन गर्ने तथा हिल्सा पुलाङ बन्दरगाह एकतर्फी रुपमा सञ्चालन गर्ने विषयमा सहमत भएका छन्।
कुन क्षेत्रमा कति सहयोग?
चिनियाँ विदेशमन्त्री वाङले नेपालको प्राकृतिक प्रकोप प्रभावितहरुका लागिसमेत सहयोग घोषणा गरेका छन्। नेपालको आग्रहअनुसार चीनले ३ मिलियन आरएमबी बराबरको प्रकोप राहात सामाग्री उपलब्ध गराउने घोषणा गरेका हुन्।
त्यस्तै चीनले २ मिलियन आरएमबी बराबरको स्वास्थ्य सामाग्री तथा रसद उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै वाङले नेपाललाई थप कोभिड-१९ भ्याक्सिन तथा कोभिड-१९ सम्बन्धित स्वास्थ्य सामाग्री नेपालको आवश्यकता बराबर उपब्ध गराउने घोषणासमेत गरेका छन्।
परराष्ट्र मन्त्री खड्काले कोभिड-१९ नियन्त्रणका लागि चिनियाँ पक्षले पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको स्वास्थ्य पूर्वाधार तथा सुविधा विकासका लागि सहयोग गर्न अनुरोध गरेका थिए। साथै उनले क्यान्सर उपचारको प्रविधिको साझेदारीका लागिसमेत अनुरोध गरेका थिए। चिनियाँ समकक्षी वाङले सिभिल अस्पतालमा रक्त क्यान्सको उपचारका लागि सीआरए टी सेल उत्पादन प्रयोगशाला निर्माण गर्न तथा नेपाली स्वास्थ्यकर्मीलाई आवश्क तालिम दिन सहयोग गर्ने घोषणासमेत गरेका छन्।