मुख्यमन्त्रीको आरोप,संघीयता नबुझेका प्रधानमन्त्रीले देश चलाइरहेछन्
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता नबुझ्ने र नरुचाएका व्यक्तिले नै नेपाल सरकारको नेतृत्वमा रहेर काम गरिरहेकाले समन्वय कठिन रहेको बताएका छन्।
रेडिया वीरगंज ९९ मेगाहर्जको १८ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘देशमा संघीयता नबुझ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गरिरहेका छन्, संघीयतालाई सखाप पार्न संसदबाटै विभिन्न थरी ऐन पास गरी प्रदेश सरकारको हक अधिकार कटौती भइरहेको छ।’
मुलुक संघीय गणतन्त्रात्मक लोकतन्त्रिक व्यवस्थामा गएपनि प्रदेश सरकारले अहिलेसम्म संघीयताको मर्म अनुसार काम गर्न नसकिरहेको पनि बताए।
उनले भने ,‘प्रदेश सरकारलाई भएको अधिकार पनि कटौती गरिदैछ। संघ सरकार मातहत रहेका कर्मचारीहरुले गर्दा पनि निकै समस्या भइरहेको छ। कसरी काम गर्ने कसरी विकास गर्ने?
कार्यक्रममा संगै रहेका प्रदेश २ का भौतिक पूर्बाधार विकास मन्त्री जितेन्द्र सोनलले देशमा अहिले लोकतन्त्र चरमराएको बताए।