नितिश कुमार आठौंपटक बिहारको मुख्यमन्त्री बने
नितिश कुमार आठौंपटक बिहारको मुख्यमन्त्री बनेका छन्। मंगलवार भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन तोड्दै मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिशले महागठबन्धन बनाएर फेरि सरकारको नेतृत्व गरेका छन्।
बुधवार दिउँसो बिहारका राज्यपाल फागू चौहानले नितिशलाई राजभवनमा सपथ दिलाएका हुन्।
नितिशसँगै बुधवार राष्ट्रिय जनता दलका तेजश्वी यादवले उपमुख्यमन्त्री पदको सपथ लिएका छन्। तेजश्वी लालु प्रसाद यादवका छोरा हुन्।
भाजपाले नितिशमाथि जनमतको अवमूल्यन गरेको आरोप लगाएको छ। सन् २०१३ सम्म नितिश भाजपासँगै थिए। तर, नरेन्द्र मोदीको उदयपछि उनले भाजपाको साथ छाडेर लालु प्रसाद यादव र कांग्रेससँग मिलेका थिए। सन् २०१५ मा लालु र कांग्रेससँग मिलेर उनले सरकार पनि गठन गरेका थिए। त्यससमय पनि तेजेश्वीलाई उपमुख्यमन्त्री बनाइएको थियो। सन् २०१७ मा नितिशले ३ दलीय गठबन्धन तोड्दै भाजपासँग फेरि गठबन्धन गरेका थिए। केन्द्रसँगको मतभेद बढ्दै गएपछि नितिशले फेरि भाजपाको साथ छाडेका हुन्।
नितिश पहिलोपटक सन् २००० को मार्चमा विहारका मुख्यमन्त्री बनेका थिए। त्यसपछि सन् २००५ को नोभेम्बर, सन् २०१५ को फेब्रुअरी, २०१५ कै नोभेम्बर, २०१७ को जुलाइ र नोभेम्बर २०२० मा मुख्यमन्त्री बनेका थिए। आज नितिशले आठौंपटक मुख्यमन्त्रीको सपथ लिएसँगै आउने लोकसभा निर्वाचनमा नरेन्द्र मोदीविरुद्ध विपक्षी गठबन्धन एक भएर लड्न सक्ने अनुमान गरिएको थियो।