नेशनल हाइड्रोको विशेष साधारण सभा भदौ १० गते हुने
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष भदौ १० गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको साउन २३ गतेको सञ्चालक समितिको बैठकले बालुवाटार स्थित डेलिश ओपेरा रेष्ट्रो बैंक्वेटमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले सुनकोशी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्ती पश्चात् कायम हुन आउने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद शेयर र सुनकोशी हाइड्रो पावरलाई प्राप्ती पश्चात कम्पनीको चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
त्यस्तै कम्पनीको एक सय रुपैयाँ प्रति कित्ताको २२४७० कित्ता साधारण शेयर बापत जम्मा ७ लाख २५ हजार रुपैयाँको आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकोले कम्पनीको हिसाबमा १५ लाख २२ हजार रुपैयाँ भुक्तानी प्राप्त नभएको देखिएकाले हिसाब मिलान गर्नको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । विशेष साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।