माधव नेपाललाई योगेशको शुभकामना,दुई सय वर्ष बाँच्नूहोस्, पद नछोड्नूहोस्
नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नो मनसाय समाजवादीका युवाहरुको चित्त दुखाउनु नरहेको बताएका छन् ।
यसअघि नेता भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गर्दै सन्यास लिन सुझाव दिएका थिए ।नेता भट्टराईप्रति समाजवादीका युवाहरुको तिखो टिप्पणी गरेपछि सामाजिक सञ्जालमार्फत नै भनेका छन्, “अब उनीहरु खुसी हुने गरी म भन्न चाहन्छु– कमरेड माधवकुमार नेपाल दुई सय वर्ष बाँच्नुहोस् । पदमा रहिरहनुहोस्, शुभकामना ।”
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
कमरेड माधव नेपाल र म !
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ति फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनउपयोगी जवाफ फर्काए । समाजवादीका युवाहरूको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईँहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुसी हुने गरी म भन्न चाहन्छु – कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा:
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यति बेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. वहाँमा थुप्रै राम्रा गुणहरू छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन् र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौँ महाधिवेशन ९ २०४९ ० मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी सुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।
४. छैँटौँ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।
६. आठौँ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।
७. नवौँ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौँ । जित्नु भएन ।
८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।
९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।
‘पुनश्च : कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु मेरो मनसाय होइन ।’ अन्त्यमा उनले भनेका छन् ।