जापानमा कोरोनाको तेस्रो लहर, एकैदिन २ हजार ७३३ जना संक्रमित
कोरोना भाइरस संक्रमणको तेस्रो लहरबाट जापान प्रभावित भएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो संक्रमणमा ५५५ जनामा गम्भीर लक्षण देखिएको छ ।डिसेम्बर ९ अर्थात् गत बुधबार पनि त्यहाँ २ हजार ८३७ जना संक्रमित थपिएका थिए । त्यहाँ नोभेम्बरयता संक्रमण बढ्न थालेको छ।
क्योडो न्यूज एजेन्सीका अनुसार जापानका ६ वटा राज्यमा फेरि संक्रमण फैलिएको छ ।संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि त्यहाँ तेस्रो लहरको संक्रमण सुरू भएको विज्ञहरूलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
पछिल्लो वृद्धिसँगै जापानमा संक्रमितको संख्या एक लाख ६८ हजार ५७३ पुगेको छ । तीमध्ये एक लाख ४३ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।
२ हजार ४६५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४५ जनाको मृत्यु भएको छ ।