कोरोनाको खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न कार्य हुँदैछ – प्रधानमन्त्री ओली


काठमाडौँ। विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।
‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणले मानवअधिकारको उपभोगमा चुनौति थपिदिएको छ । यसले बाँच्न पाउने हक पहिलो हक हो भन्ने कुरा पुनःपुष्टि गरेको छ ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध देशका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्नका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था’, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गरिएको पनि बताए ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारले आफ्नो स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त रही कार्य गरिरहेका छन्’ ओलीको सन्देशमा भनिएको छ, ‘पूरै अनुभवशून्यताको अवस्थाबाट हामीले यसको रोकथाम, नियन्त्रण र उपचारको काम शुरु गरेका हौँ ।

एउटा पनि परीक्षण गर्न नसक्ने अवस्थाबाट आज हामी एकैदिन हजारौँको सङ्ख्यामा परीक्षण गर्न सक्ने अवस्थामा पुगेका छौँ । स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको छ । सबै पालिकामा अस्पताल निर्माण गर्ने काम प्रारम्भ भइसकेको छ ।’

नेपाल सरकारले यस वर्ष ३९६ पालिकामा ५, १० र १५ शय्याका आधारभूत अस्पताल र सात वटै प्रदेशमा सरुवा रोग अस्पतालको निर्माण प्रारम्भ गर्ने लक्ष्यअनुरूप एकैदिन ३०९ पालिकामा आधारभूत अस्पताल र तीन प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको काम प्रारम्भ भइसकेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *