नेयमारको ह्याट्रिकसंगै पिएसजीको फराकिलो जीत


काठमाडौं, । गएराति भएको युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी ले फराकिलो जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले इस्तानबुल बासेखसिरलाई ५ -१ ले हराएको हो ।

मंगलबार नै हुनुपर्ने उक्त खेल सञ्चालन गर्ने रेफ्री टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै दुवै टोलीले मैदान छाडेपछि यूईएफएले बुधबार नयाँ रेफ्री टोलीसहित खेल संचालन गरेको थियो ।
पिएसजीको यो जीतमा ब्राजिलियन फरवार्ड नेयमारले ह्याट्रिक पूरा गर्दा किलियन एमबाप्पेले २ गोल गरे ।
अघिल्लो दिन १५ मिनेटमा गोलरहित रहेको अवस्थाबाट नै खेल सुरु भएको थियो । खेल सुरु हुनुअघि दुवै टोलीका सदस्य र अफिसियलले मैदानको बीच भागमा घुँडा टेकेर रंगभेदविरुद्ध आवाज उठाएका थिए ।

१५ औं मिनेटमा इस्तानबुलले फ्रिकिक लिएर सुरु भएको खेलमा पिएसजीले २१औं मिनेटमा नै अग्रता लियो । नेयमारले मार्को भेराट्टीको पासमा उत्कृष्ट फिनिस गरेपछि पिएसजीले खेलमा अग्रता लिएको थियो ।

३७औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । उनले किलियन एम्बाप्पेको पासलाई गोलमा परिणत गरेका थिए । ४२औं मिनेटमा एम्बाप्पे आफैंले गोल गर्दै पहिलो हाफमा नै पिएसजीलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५०औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गरे । एन्जल डी मारियाको पासमा नेयमारले झन्डै २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

५७औं मिनेटमा मेहमेत टोपालले इस्तानबुलका लागि गोल फर्काए । तर त्यसको ५ मिनेट नबित्दै नेयमारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पिएसजीले पेनाल्टी पायो । उक्त पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले पिएसजीलाई ५-१ को अवस्थामा पुर्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *