सुनखानीमा कामदारबीच भएको झडपमा १ सय जनाको मृत्यु
अफ्रिकी मुलुक चाडको उत्तरी क्षेत्रमा रहेको सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको छ ।
कामदारबीच भएको झडपमा परी १०० जनाको मृत्यु भएको रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् ।लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् ।
उक्त झडप चाडको राजधानी जामेनाबाट करिब १,००० किलोमिटर मध्य सहारा मरुभूमिको टिबेस्टी पहाडी इलाकामा भएको जनाइएको छ ।
त्यस क्षेत्रमा सुनको खोजी गर्न चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाव र झडप हुने गरेको बताइन्छ ।झडप मौरिटानियन र लिबियालीहरू बीच भएको मन्त्रीले बताएका छन् ।