‘प्रचण्ड’ले जनतालाई धम्काए, अन्तिममा चिसै पानीले नुहाउने हुन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई धम्काएको आरोप लगाएका छन् । दुई दिनअघि भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले जनतालाई डर त्रास र धम्की नदिन चेतावनीसमेत दिए । एमाले इटहरीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले दुर्घटनाको धम्की दिए पनि अन्तिमा चिसै पानीले नुहाउने बताएका हुन् ।
‘पुष्पकमल दाहालले दुर्घटनाको धाकधम्की नदिए हुन्छ,’ उनले भने, ‘अन्तिममा उनले चिसै पानीले नुहाउने हो ।’कांग्रेस सभापति शेरबहादुर देउवा जस्तो अरू धम्कीले नडराउनेसमेत उनले बताए ।
‘हिजो पनि धम्की दिनु भएजस्तो छ, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बकेझैं बहकी रहनुभएको थियो,’ उनले भने ।
ओलीले गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट वञ्चित गरेको आरोपसमेत लगाए ।