एमालेको घोषणापत्र : सत्तारुढ गठबन्धन दिशाहीन भएको आरोप

नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रको ‘कभर’मै ओली सरकारको समयमा भएका विकासका कामहरु देखाइएको छ। रानीपोखरी, धरहरा, जनकपुर(जयनगर रेल सेवा लगायतका कार्यहरु चित्रमार्फत देखाइएको छ। छोटो अवधिमा नै ओली सरकारले धेरै काम गरेको एमालेले दाबी गरेको छ।
सत्तारुढ गठबन्धन दिशाहीन भएको आरोप एमालेले लगाएको छ। अहिले देशमा चौतर्फी संकट देखिएको भन्दै स्थानीय तह निर्वाचनमा एमालेको विकल्प नरहेको दाबी गरिएको छ।
घोषणापत्रमा एमालेले विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास लगायत आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहुँच पुर्याउने, बिचैमा पढाइ छाड्ने समस्याको समाधान गर्ने, विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गर्ने, विपदका कारण विद्यालय जानबाट बञ्चित बालबालिकाहरूका लागि विशेष व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने एमालेको प्रतिबद्धता छ।