प्रचण्डको आरोप :ओलीले पार्टीलाई अपमान गरे
काठमाडौँ– विवाद चरम उत्कर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अपमान गरेको आरोप लगाएका छन् ।बैठकको शुरुमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले पार्टीमाथि अपमान गरेको आरोप लगाए ।उनले पार्टी कमिटीको बैठक बोलाउन निवेदन हाल्नुपर्ने परिस्थिति ‘लज्जाजनक’ रहेको बताए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले एक जनाको जिद्दीका कारण पार्टी नै समाप्त हुन लागेको र बैठक बोलाउन समेत निवेदन हाल्नुपर्ने लज्जाजनक परिस्थिति पैदा भएको टिप्पणी गरेका हुन् ।
‘पार्टीको अवस्था यस्तोसम्म आयो कमरेडहरू, बैठक बोलाउन पनि निवेदन हाल्नुपर्ने परिस्थिति सिर्जना भयो । यो अत्यन्तै लज्जाजनक परिस्थिति हो । यसरी न पार्टी उँभो लाग्छ न त देश नै,’ प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने ।
बैठकमा दाहालले दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउन आफूले अध्यक्ष पद त्याग्न तयार रहेको बताएका थिए ।