शहबाज शरिफ बने पाकिस्तानका नयाँ प्रधानमन्त्री
पाकिस्तानमा पाकिस्तान मुस्लिम लिग नवाज (पीएलएम-एन) पार्टीका अध्यक्ष शहबाज शरिफ नयाँ प्रधानमन्त्री चुनिएका छन् ।
पाकिस्तानी संसद्मा भएको मतदानमा सामान्य बहुमत पुर्याएसँगै शहबाज पाकिस्तानका २३ औँ प्रधानमन्त्री चुनिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रधानमन्त्री बन्न पाकिस्तानी संसद्मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट आवश्यक पर्छ ।संसद्मा भएको मतदानमा शहबाजको पक्षमा १ सय ७४ मत खसेको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युन पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।
प्रधानमन्त्री बन्न शरिफका साथै इमरान खानको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह महमुद कुरैशीले मनोनयन दर्ता गराएका थिए । यद्यपि प्रधानमन्त्री चयन प्रक्रियाअघि पीटीआईका सांसदहरुले सामूहिक राजीनामा दिँदै संसद् बैठक बहिष्कार गरेका थिए ।