माउन्टेन फ्लाइट सुरु गर्यो यती एयरलाइन्सले
कोभिडको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दै यती एयरलाइन्सले शनिबारदेखि पर्वतीय उडान सुरु गरेको छ। एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाका अनुसार प्रत्येक शनिबार नियमित रुपमा दुईवटा पर्वतीय उडान हुनेछन्। एयरलाइन्सले सगरमाथाको उचाइ बराबरको मूल्य ८ हजार ८ सय ४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ। यसका कारण माग बढेको प्रवक्ता बार्तौलाले बताए।
यस्तै एकजना व्यक्ति मात्रै यात्रा गर्ने हो भने ७ हजार ८ सय ४८ रुपैयाँमा झ्यालको सिट पाउने गरी टिकट उपलब्ध गराइएको पनि उनले बताए।
उनले कोभिडको समयमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरी उडान गरिएको बताए।शनिबारको पर्वतीय उडानमा गएका ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सस्तोमा पर्वतीय उडान गर्न पाउँदा खुशी लागेको बताए।