उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको योजना छिट्टै स्वीकृत गरिने


सरकारले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत गर्ने भएको छ । उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी हुन् ।हालै भक्तपुरमा बसेको भौतिक विकास समितिको १६औं बैठकलाई सम्बोधन गदै मन्त्री झाँक्रीले नयाँ नगरलाई आधुनिक र सुविधासम्पन्न रूपमा विकास गरिने बताइन् ।

‘हामीले नयाँ नगर बनाउने भनेका छौं, यसलाई जनतासँग जोडेर कसरी लैजान सकिन्छ भन्नेबारे पनि सचेत छौं । यसका लागि भौतिक योजना स्वीकृत गरेर कार्यान्वयनमा लैजान्छौं,’ उनले भनिन् ।सरकारले रोकेर राखेको एक लाख रोपनी जग्गा समेत छिटो खुलाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताइन् । नयाँ नगरको भौतिक योजना स्वीकृतिका लागि छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी उनले दिइन् ।

‘एउटा प्राविधिक टोली बनाएर यसलाई तत्काल अघि बढाउन गृहकार्य शुरू गरेका छौं,’ उनले भनिन् । उक्त बैठकमा राष्ट्रिय योजना आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले नयाँ नगर बनाउँदा स्थानीय तहलाई नै जिम्मेवार र जवाफदेही बनाउनुपर्ने बताए । भौतिक योजना तत्काल स्वीकृत गर्नुपर्नेमा समेत उनले जोड दिए ।
यस्तै शहरी विकास सचिव डा. रमेशप्रसाद सिंहले नयाँ नगरमा पूर्वाधारसहितको काम गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *