एमसीसीले नेपालको विकासमा मद्धत गर्छ : बालकृष्ण खाँण
अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले जानकारी दिए ।
नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘एमसीसी नेपालका लागि फाइदा छ । यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ ।’कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए । उनी भन्छन्, ‘स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ । यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ ।’