जारी अवरोध सँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य


सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले रातिदेखि नै लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरेकी थिइन्।

यससँगै संघीय संसद्को १०औँ अधिवेशनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले एउटा पनि नयाँ विधेयक दर्ता नगरेर अधिवेशन अन्त्य गरेको हो । संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी अधिवेशन अन्त्य भएको हो।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नवौँ र १०औँ अधिवेशनको १ सय ८७ औँ दिनसम्म संसदभित्र नाराबाजी गरेर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको नयाँ रेकर्ड कायम गराएको छ । २३ भदौदेखि पछिल्लो बैठक २९ फागुनसम्म बसेको बैठकसम्म अवरोध कायम राख्यो।

‘प्रतिनिधिसभाको चालु अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता भएको छैन,’प्रतिनिधिसभाले सो अवधिमा भए गरेका काम कारबाहीको संक्षिप्त जानकारी दिँदै उल्लेख गरेको छ, ‘यस अधिवेशनमा सभाका अघिल्ला अधिवेसनबाट विभिन्न चरणमा रहेका जम्मा ४२ वटा विधेयक प्राप्त भएका थिए।’

प्रतिनिधिसभाको ८ फागुन २०७८ को बैठकमा ‘लोकसेवा विधेयक २०७५’ का सबन्धमा राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त सन्देश मात्र टेबुल भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित एमालेले नवौँ र दसौँ अधिवेशनको समय सीमा भित्रको १८७ औँ दिनसम्म नाराबाजी गरेर निर्णय सच्चाउन दबाब बढाउने कामलाई मात्रै निरन्तरता दियो ।

सभामुख सापकोटाले बोलाएको तीन वटा सर्वदलीय बैठकसमेत बहिस्कार गरेको प्रतिपक्ष एमालेले पार्टीले निष्कासन गरेका १४ सांसदलाई कारबाही नगरेसम्म संसद् अवरुद्ध गर्ने अडान २९ चैतसम्म पनि कायम नै राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *