आज महाशिवरात्रि पर्व,पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको भीड
आज (मंगलबार) आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मानइँदै छ । शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गर्छ। काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हलेशी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना भइरहेको छ।
महाशिवरात्रिका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत पशुपति मन्दिर परिसरमा साधुसन्तहरू आएका छन्।
पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदा गर्ने चलन छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ। महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहान ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन्। मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषले जनाएको छ।
यो वर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्ने भक्तजनहरुका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ।
कोरोना महामारीको जोखिम कायमै रहेको समयमा समेत यस वर्ष आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन पशुपति दर्शन गर्न सक्नेगरी व्यवस्थापन गरिएको कोषले जनाएको छ। विगतका वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए।