अम्बानीलाई पछि राख्दै एसियाको धनी बने गौतम अडानी
अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हासिल गरेका हुन् ।
ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । फोर्बसको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए ।
ब्लुमबर्गले अडानीलाई संसारको धनीमध्ये १०औं नम्बरमा राखेको छ । उनले पहिलोपटक यो उपलब्धि हासिल गरेका हुन् । अब अम्बानीको नम्बर ११ मा पुगेको छ ।
यो वर्षको कमाइमा अडानीले सबैलाई उछिने । उनको नेटवर्थमा १२ अर्ब डलर बढोत्तरी भयो । अम्बानीको नेटवर्थमा भने २.०७ अर्ब डलर गिरावट आएको छ ।व्यवसायको दुनियाँमा गौतम अडानीले कमोडिटी बिजनेसबाट प्रवेश गरेका थिए । अहिले उनको बिजनेस पोर्ट्स, माइन्स, ग्रिन एनर्जीसमेत थुप्रै क्षेत्रमा लगानी छ ।
उनका केही कम्पनीको सेयरमा पछिल्ला दुई वर्षमा ६०० प्रतिशत उछाल आएको थियो । पछिल्ला तीन वर्षमा भारतका सात विमानस्थलको परिचालन उनको हातमा परेको थियो । उनको समूह भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल अपरेटर, पावर जेनेरेटर तथा सिटी ग्यास रिटेलर बनेको छ ।
२०२० को पूर्वाद्र्धदेखि अडानी ग्रिन तथा अडानी टोटल ग्यासको सेयरमा हजार प्रतिशतभन्दा बढी उछाल आएको थियो । यसै क्रममा अडानी इन्टरप्राइजेज लिमिटेडमा ७३० प्रतिशत, अडानी ट्रान्समिसनमा ५०० प्रतिशत र अडानी पोर्ट्समा ९५ प्रतिशतभन्दा अधिक वृद्धि भएको थियो ।
साथै, बेन्चमार्क बीएसई इन्डेक्समा ४० प्रतिशत वृद्धि भएको थियो । सोमबार अन्य कम्पनीका सेयरमा तीव्र गिरावट आउँदा पनि अडानी ग्रिन र अडानी टोटल ग्यासको सेयरमा भारी वृद्धि भएको थियो ।