पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गरिनेछ : गगनकुमार थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन् । उनले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गरे ।
नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने बताए । विदेश गएका युवाका लागि रोजगारी सृजना गर्नका लागि पार्टीले रणनीति बनाउने उनले उल्लेख गरे ।
महामन्त्रीमा निवार्चित भएपछि काठमाडौं उपत्यकाबाहिर पहिलो आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा हुने तथा प्रदेश र सङ्घको निर्वाचन मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेस केन्द्रीय सदस्य एवम संसदीय दलकी सचेतक पुष्पा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देश पछाडि धकेलिएको आरोप लगाइन् ।