यू १९ एसिया कप, पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित
प्रान्तिक नबिलको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेशले एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपाललाई १५४ रनले पराजित गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा २९७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १४३ रनमै समेटियो ।नेपालका गुल्शन झाले सर्वाधिक ३५ रन बनाउँदा विवेक मगरले ३३ रन बनाए । यस्तै विवेक यादवले २६ रनको योगदान दिए ।
बंगलादेशका तान्जिम हसन सकिब, राकिबुल हसन, एसएम मेहरुब र नैमुर रहमानले समान २–२ विकेट लिए ।यशअघि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जितका लागि २९८ रनको लक्ष्य दिएको थियो ।
बंगलादेशका प्रान्तिक नबिलले अविजित रहँदै १ सय २७ रनको शतकीय इनिङ्स खेलेपछि ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनायो ।यस्तै मोहमद फाहिमले ५८ रनको अर्धशतकीय पाली खेल्दा एच मोल्लहले २२ रनको योगदान बनाए
नेपालका गुलशन झा, तिलक राज भण्डारी र मोहमद आदील आलमले १-१ विकेट लिए ।