८४ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुंदै गर्दा कुन समूहको कति ?


नेपाली कांग्रेसको विभिन्न क्लस्टर गरी ८४ केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ। बुधवार साँझ १० बजेसम्ममा खुला पुरुष, खुला महिला, अपांगता भएको, मधेसी खुला, मधेसी महिला, मुस्लिम महिला, मुस्लिम खुला, थारु खुला, थारु महिला अल्पसंख्यक खुला, पिछडिएको क्षेत्र प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिमको भूगोलतर्फ गरी ८४ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको हो।

निर्वाचित केन्द्रीय सदस्यमा शेरबहादुर देउवा प्यानल हावी भएको छ। पदाधिकारीतर्फ पनि देउवा प्यानल नै अघि छ।

पदाधिकारीमा एक उपसभापति र ६ जना सहमहामन्त्री देउवा पक्षले जितेको छ। एक उपसभापति र एक महामन्त्री तथा दुई सहमहामन्त्रीमा शेखर कोइराला प्यानलले जित हासिल गरेको छ। एक महामन्त्री प्रकाशमान सिंह समूहले जितेको छ।तर, केन्द्रीय सदस्यमा भने सिंहको प्यानल निल भएको छ। सिंहसहित तीनै सभापतिका प्रत्यासीबाट सूचीमा नाम सामेल भएका शशांक कोइरालाबाहेक सिंह प्यानलबाट कोही पनि निर्वाचित भएनन्।

मत परिणाम अनुसार देउवा पक्षका ६९ उम्मेद्वार केन्द्रीय सदस्यमा विजयी भएका छन्। १४ जना शेखर प्यानलबाट निर्वाचित भए। देउवा, शेखर र प्रकाशमान प्यानलमा परेका शशांक कोइरालाले केन्द्रीय सदस्यमा जित हासिल गरे।खुला केन्द्रीय सदस्यको नतिजासँगै देउवा सुविधाजनक बहुमत पुग्ने देखिन्छ। अब दलित महिला र पुरुष गरी ९ सिट, आदिवासी जनजाति महिला र पुरुष गरी १५ सिट र अस आर्यमा महिला र पुरुष गरी १३ सिट गरी ३७ केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *