लालपूर्जा प्राप्तिको लागि बाँदरझुलाका सुकुम्बासी समुदायको आन्दोलन सुरु


आफूले भोगचलन गर्दै आएको जमिनको लालपूर्जा दिन माग गर्दै चितवन माडीका स्थानीयहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका हुन्।

आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतीघरमा लालपूर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन्। बाँदरझुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नु परेको बताइन्।काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्तिका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको उनले बताइन्। नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक-पटक आन्दोलन गरे पनि माग पूरा नभएको उनको भनाइ थियो।

सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने उनको भनाइ थियो।

‘विगत ८ वर्ष देखि घुरी कर बुझाएको प्रमाण हामीसँग छ। अनि कसरी निकुञ्जको जग्गा हुन्छरु’ उनले भनिन्, ‘यो विषयमा नगरपालिकाले पनि न्याय दिन सकेन। माओवादीका अध्यक्ष प्रचण्ड तीन पटक बस्तीमा पुग्नु भयो तर, बाँदरझुलाका जनताले लालपुर्जा पाएनन्।‘

पटक पटक बस्तीमा आगो लगाइएको भन्दै उनले अब लालपूर्जा नदिएसम्म कसैलाई भोट नदिने घोषणा गरिन्।

‘नेताहरुलाई जनताको समस्या भन्दा पनि भोट चाहिएको छ। अब यहाँका जनताले केही गर्न नजाने पनि भोट दिन जानेका छौं। हामी भोट दिने बेलामा हेर्छौं,’ उनले संयोजक आचार्यले भनिन्, ‘हामीले जग्गाको लालपुर्जा नपाएसम्म कसैलाई भोट दिदैनौँ। सुकुम्बासी नपढेको जनता भनेर हेपियो। तर, अब हामी कसैले राजनीतिकरण गर्न खोजे पनि रोकिने छैनौँ। आफ्नो अधिकार माग गर्न आउनलाई समेत रोकियो। जति आएका छौं। त्यतिले निरन्तर रुपमा आन्दोलन गर्छौँ।‘

उनले आफ्ना माग पूरा गराउनका लागि अदालतमा मुद्दा हालेरमात्र चितवन फर्किने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *