प्रधानमन्त्रीको निजी निवास ४० करोड लागतमा निर्माण कार्य सम्पन्न
बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासको निर्माण कार्य सम्पन्न भएको छ ।अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बङ्करसमेत निर्माण गरिएको छ । सोमबार विशेष वास्तु पूजा गरी प्रधानमन्त्रीको निजी निवास नवनिर्मित भवनमा स्थानान्तरण हुँदैछ ।बालुवाटारमा रहेको पुरानो संरचनालाई भत्काएर दुईवटा भवन निर्माण गरिएका छन् । एउटा भवन प्रधानमन्त्रीको निजी निवासका लागि र अर्को सार्वजनिक भवनका रूपमा निर्माण गरिएको हो । निजी निवास भवन निर्माण सम्पन्न भइसकेको छ भने सार्वजनिक भवन निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख दिलीपशेखर श्रेष्ठले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा निर्माण भइरहेको दुईवटा भवनमध्ये प्रधानमन्त्रीको निजी निवास भवनको निर्माण सम्पन्न भइसकेको जानकारी दिए।