प्रकाशमानलाई शशांकको ‘सरी’,उम्मेदवारीबाट ब्याक हुन्न पावर शेयरिङ गरौं : सिंह
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई आफू सभापतिको उम्मेद्वारबाट पछाडि फर्कन नसक्ने बताएका छन् ।
ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा कोइराला र सिंहबीच भएको भेटवार्तामा सिंहले यो कुरा बताएका हुन् ।नेता सिंह निकट स्रोतका अनुसार सिंहले कोइरालालाई आफू धेरै अगाडि बढिसकेकाले पावर सेयरिङको मामलामा भने छलफल गर्न सकिने बताएका थिए ।
नेपाली काँग्रेसको हुन लागेको १४ औ महाधिवेशनमा कोइराला र सिंह सभापतिका दाबेदार हुन् । शनिबार भएको भेटवार्तामा साझा उम्मेदवार तय गर्ने विषयमा संवादलाई निरन्तरता दिने विषयमा दुवै नेताले सहमति जनाएका छन् ।
यसैबीच कोइरालाले नेता सिंहसँग माफी मागेका छन् । गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले नेता सिंहले ‘काठमाडौंबाहिर कसैले नचिन्ने भएकाले सभापतिको दाबेदार आफू भएको’ टिप्पणी गरेपछि नेता सिंह रुष्ट थिए ।