बार एशोसिएशनलाई आन्दोलनको स्वरुप बदल्न मातहतका बार इकाईको सुझाव
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।
बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा सोमबार दिउँसो १२ बजे भर्चुअल छलफल गर्दैछ । इकाइबाट आउने सुझावअनुसार बैठक बसेर आन्दोलनको निर्णय गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार सर्वोच्चमा कालोपट्टीसहित धर्ना, २३ र २५ कात्तिकमा देशभरका अदालतमा धर्ना दिनुपर्ने सुझाव दिइसकेको छ । २६ कात्तिकमा इकाइमार्फत देशभरका अदालत केही समयका लागि बन्द गराउन पनि सर्वोच्च बारको सुझाव छ।
यद्यपि, नेपाल बारले दोस्रो चरणका आन्दोलन घोषणा अघि यसअघिका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
जसअनुसार सोमबार सर्वोच्च कालोपट्टीसहितको विरोध कार्यक्रम हुनेछ । काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरिएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४, १५, १६ र १७ कात्तिकमा सर्वोच्च अदालत केन्द्रित कालोपट्टीसहितको विरोध कार्यक्रम सम्पन्न भएका छन् ।
न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरू पनि आज बिहानैबाट जबराविरुद्धको आनदोलनको रणनीति तय गर्न बैठक बस्दै छन् ।