प्रदेशसभामा सम्बोधन पछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छन्।
शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सचेतक दिपक निरौलाले जानकारी दिए।
यसपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनापत्र बुझाउने उनले बताए।
आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मत विभाजन हुने कार्यतालिका छ। मतदानको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।