मोतिपुर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशु ल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ ।
रूपन्देहीस्थित प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा अस्थायी टहरा बनाई बसेका व्यक्तिहरूलाई सुरक्षाकर्मीहरूले हटाउने क्रममा भएको झडपमा सुरक्षाकर्मीको गोली लागी चारजना प्रदर्शनकारीको मृत्यु र घाइते भएको घटनालाई लिएर आयोगले निष्पक्ष छानबिन गर्न माग गरेको हो ।“व्यक्तिको ज्यानै जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भने, “घाइतेहरूको निःशुल्क उपचार गराउन तथा वास्तविक घरबारविहीनहरूको पहिचान गरी यथोचित स्थानमा बसोबासको व्यवस्था मिलाउनुपर्छ ।”
आयोगले उक्त घटनाबाट उत्पन्न परिस्थितिबाट मानव अधिकारको प्रत्याभूति र शान्ति सुरक्षाको बहालीमा थप चुनौती हुन नदिनका लागि संयममता अपनाई विवादको समाधान वार्ताको माध्यमबाट गर्न आयोगले सम्बद्ध सबै पक्षलाई अनुरोधसमेत गरेको छ ।