निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा किन आएन् ?
काठमाडौं उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन ।सुक्खा बन्दरगाह निर्माण ५ महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो ।वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण सम्पन्नसँगै मन्त्रालयको तर्फबाट गरिनुपर्ने सबै काम सम्पन्न भएको जनाउँदै सञ्चालन हुन नसक्नुको दोष अर्थ मन्त्रालयलाई लगाएको छ ।
वाणिज्यले बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टीन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको जनाएको छ । मन्त्रालयले तत्कालका लागि मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिमार्फत बन्दरगाह सञ्चालन गर्ने तयारी अघि बढाएको समेत पाइएको छ ।अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले कर्मचारी दरबन्दी सिर्जना, कार्यविधि निर्माण तथा भन्सार क्षेत्र घोषणाका लागि काम भइरहेको जनाएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत २ सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको काम भएको हो ।
विश्व बैंकको १ अर्ब ६७ करोड लागतको ऋण सहयोगमा आयोजना निर्माण गरिएको छ ।
आयोजना सम्पन्न भएसँगै काठमाडौं केन्द्रित व्यापारीहरूले आफ्नो सामान सोझै चोभार स्थित काठमाडौं बन्दरगाहमा ल्याएर व्यापार व्यवसाय गर्न पाउने भन्दै खुशी व्यक्त गर्दै आएका छन् तर सञ्चालनमा भने अझै अन्योलता देखिएको छ ।
सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै निर्यातजन्य सामग्री अन्य मुलुकमा पठाउन पनि यहीँबाट काम गर्न सकिने जनाइएको छ । बन्दरगाहमा एउटा मुख्य प्रशासनिक भवनको साथै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टीन लगायतका कार्यालय राखिने छ । समितिका अनुसार आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरू निर्माण भएका छन् ।
बन्दरगाहमा ६०० कन्टेनर अटाउने क्षमता रहेको जनाइएको छ । १ वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो तर वातावरण प्रदूषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो ।