आज ६३औँ विश्व रङ्गमञ्च दिवस मनाइँदै


आज ६३औँ विश्व रङ्गमञ्च दिवस । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै छन् ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटको अवधारणाअनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ । नेपालमा पनि रङ्गकर्मीहरुले नाटक प्रस्तुतिसहितका कार्यक्रम गरेर दिवस मनाउने गरेका छन् ।

कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समय नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ ।

रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ ।

चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।

रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन् ।

सानो भूमिकादेखि शीर्ष भूमिकासम्म चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा कमै फर्किने गरेका छन् । कलामाथि व्यापार पनि हाबी हुँदा उल्लेखित नामहरू रङ्गमञ्चसम्म आउन नसकेको आरोप लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *