‘आँखा’ असार १४ मा रिलिज हुने


‘आँखा’ सिनेमाले आफ्नो रिलिज मिति घोषणा गरेको छ। सिनेमा असार १४ गते रिलिज हुने भएको हो। सामाजिक विषयवस्तुमा निर्माण भएको सिनेमा आँखाको शुक्रबार फस्ट लुक र थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। जोन योन्जन सिनेमाका लेखक तथा निर्देशक हुन्।

लामा सिनेमा प्रालिको प्रस्तुति रहेको सिनेमालाई वितरक कम्पनीसँगको सल्लाहमा असार दोस्रो साता रोजेको निर्देशक योन्जनले जानकारी दिएका छन्।

सार्वजनिक पोस्टरमध्ये एउटामा प्रायः सबै प्रमुख कलाकारहरूलाई अटाइएको छ। उनीहरुलाई आँखाको आकार भित्र अटाइएको छ भने त्यसको केन्द्रमा सूर्यमुखी फूललाई स्थान दिइएको छ।

यस्तै थिम पोस्टरमा फोहोरको थुप्रोमाथि सूर्यमुखी फूलेको देख्न सकिन्छ।

फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, पशुपति राई, विजय बराल, प्रविण खतिवडा, राजन खतिवडा, अभयराज बराल, सरोज खनाल, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्कीलगायत कलाकारहरूको अभिनय छ। बाल कलाकारको भूमिकामा प्रसन राई छन्।

स्मिता लामिछाने निर्माता रहेको सिनेमा आलोक शुक्लाले छायांकन गरेका हुन् भने कृष्ण भण्डारी र निर्देशक योन्जनको संयूक्त सम्पादन रहेको छ।

दिपक आरजेको संगीत रहने सिनेमामा द्वन्द्व निर्देशन रेवन्तविक्रम थापाको छ। ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *