डेढ महिनादेखि आईपीओ स्वीकृतिको पर्खाइमा रिलायन्स स्पिनिङ मिल्स


बुक विल्डिङ विधिबाट दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न निवेदन दिएको रिलायन्स स्पिनिङ मिल्स डेढ महिनादेखि स्वीकृतिको पर्खाइमा रहेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने यो कम्पनी दोस्रो नम्बरमा पर्दछ । यस अघि सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गरी दोस्रो बजारमा कारोबार समेत सुरु भैसकेको छ ।

सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणलाई जारी गर्न अनुमति माग गरेको १५ दिनमै स्वीकृति प्राप्त गरेको थियो । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने कम्पनीले पहिला योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गर्न बोर्डसँग स्वीकृति लिनुपर्ने हुन्छ । सर्वोत्तमले दोस्रो चरणको आईपीओ निष्कासनका लागि निवेदन दिएको १५ दिनभित्रै स्वीकृति पाएकोमा रिलायन्स स्पिनिङ मिल्स भने डेड महिनाभन्दा बढी समय पर्खिनु परेको अवस्था छ । गत माघ १५ गते योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गरेको यस कम्पनीले माघ २३ गते सर्वसाधारणका लागि आईपीओ विक्री गर्न बोर्डमा निवेदन दिएको थियो ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रित्त रहेसँगै सार्वजनिक निष्कासनका लागि स्वीकृति दिइएको छैन् । पुस १९ गतेपछि प्रभावित बनेको सार्वजनिक निष्कासनका लागि स्वीकृति प्रक्रियालाई निकास दिने तयारीमा बोर्ड सञ्चालक रहेको देखिदैन । नयाँ अध्यक्ष नियुक्तपछि मात्र स्वीकृति प्रक्रिया अघि बढ्ने जानकारी बोर्डले दिएको छ । बोर्डका कार्यकारी प्रमुख डा. नवराज अधिकारीले सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया रोक्न नहुने र यसलाई निरन्तरताका लागि आफूले पहल गर्ने बताएपनि हालसम्म त्यसले निकास पाउन सकेको छैन । जसको असर रिलायन्स स्पिनिङ मिल्स सहित ५८ कम्पनीहरूमा परेको छ ।

बुक विल्डिङ विधिको हकमा यस अघि प्रक्रिया पुरा गरेका कम्पनीको हकमा १५ दिनभित्रै अनुमति पाएकोमा स्वीकृति प्रक्रिया रोकिदा रिलायन्स स्पिनिङ मिल्सलाई बढी असर परेको जानकारहरूको बुझाई छ । हाल बोर्डमा ३५ कम्पनीले आईपीओ निष्कासनका लागि , ५ कम्पनीले एफपीओ निष्कासन कालागि , ९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि, १ कम्पनीले ऋणपत्र निष्कासनका लागि र ८ कम्पनीले म्यचुअल फण्ड निष्कासनका लागि निवेदन दिएका छन् ।

रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको कटअप मूल्य ९१२ रूपैयाँको आधारमा १० प्रतिशत कम मूल्यमा आईपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणमा ८२० रुपैयाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ विक्री गर्न कम्पनीले अनुमति मागेको हो । कम्पनीले सर्वसाधारणमा कुल १९ लाख २६ हजार ६०० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *