सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै
डोटी । सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ ।डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ ।
पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखन्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लाका स्थानीयबासी रामबहादुर विष्टले बताए । उनले भने, ‘‘माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ । आजको दिन यहाँ रमाइलो गरिन्छ ।’’
आजको दिन यहाँका नागरिकले वन–जंगलमा काम नगर्ने र बञ्चरो, हँसिया, घाँसपात, दाउरा बाँध्ने डोरी आदिको पनि पूजा गर्ने चलन रहेको अर्का स्थानीयबासी शिवबहादुर कामीले जानकारी दिए ।
उनका अनुसार आजको दिन यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका सहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्दछ ।
पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ ।
पूर्वजका पालादेखि चल्दै आएका चाडपर्व र यी चाडपर्व मनाउने तिथिमितिलाई मनन् गर्दा मान्छेले फुर्सदको समयमा मनोरञ्जन लिने र दिने सोचका साथ तय गरेको पाइएको डोटी उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य तथा दिपायलका स्थानीयबासी डम्बर भण्डारीले बताए ।
उनले भने, ‘‘आजको दिन यहाँका नागरिकले रातभर जाग्राम बसी पुराना किम्बदन्ती सुन्ने र सुनाउने चलन छ । जसलाई सुदूरपश्चिममा ‘बातै’ भन्ने चलन छ ।’’
आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली रमाइलो गर्ने चलन छ ।
गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रूपमा हेर्न सकिन्छ, पुस महिनालाई । पुस पन्ध्रको लामो रातलाई कतै–कतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिनइने गरिन्छ । सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीकका रूपमा लिने चलन छ ।
घर–घरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने चलनलाई यहाँ पुसे पन्ध्र भन्ने गरिन्छ ।
रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत–संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा रहेकाले आजको दिनलाई यहाँ निकै महत्वका साथ हेरिने गरिएको दिपायल सिलगढी नगरपालिका–५ का टीकासिंह भण्डारीले जानकारी दिए ।
पछिल्ला दिनमा यो पर्व मात्र औपचारिकता निभाउने ढंगले मनाइँदै आएको स्थानीयबासी बताउँछन् । कोरोना कहरका कारण यो वर्ष पहिलेजस्तो गरी मनाउन गाह्रो हुने कतिपय स्थानीयबासीको भनाइ छ ।
यहाँका गाउँ–घरमा आजको दिन शालिन र भद्र ढंगले दिनभरि देउडा खेल्ने तथा महिला–पुरुषले सवाल–जवाफसमेत फर्काउने गर्दछन् । आजको दिन परापूर्वकालदेखि नै महिला–पुरुषसँगै देउडा खेल खेल्ने चलन कायमै रहेको सायल गाउँपालिकाका स्थानीयबासी शिद्धराज जोशीले जानकारी दिए । रासस